काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित गोरखा, धादिङ र बागलुङ जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए। त्यसैगरी, २०८३ असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेका निजी आवासका प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबासको व्यवस्था गर्न चाहेमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनाका लागि तत्काल राहतस्वरूप बसोबास तथा जीविकोपार्जन खर्च उपलब्ध गराइनेछ। जसअनुसार चार जनासम्म सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई पाँचौँ सदस्यदेखि प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।