• २०८३ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

न्यूजिल्याण्डका नेपालीद्वारा बाढीपीडितका लागि सवा करोडभन्दा बढी सहयोग

न्यूजिल्याण्डका नेपालीद्वारा बाढीपीडितका लागि सवा करोडभन्दा बढी सहयोग

काठमाडौं। विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्दै न्यूजिल्याण्डमा बसोबास गर्ने नेपालीहरूले नेपालका बाढीपीडितका लागि उल्लेखनीय आर्थिक सहयोग जुटाएका छन्। न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडको पहलमा संकलित ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट (नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। भोटेकोशी–रसुवा क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सघाउने उद्देश्यले संकलित उक्त रकम प्रतिनिधिसभा सदस्य डा. राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलमार्फत हस्तान्तरण गरिएको हो। सहयोग ग्रहण गर्दै मन्त्री पौडेलले विपद्को समयमा विदेशमा रहेका नेपालीले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले यसबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सरकारले विपद्पीडितको आवश्यकताअनुसार काम अघि बढाउने बताए। संस्थाका अध्यक्ष डा. रोशन खड्काले नेपालमा संकट आइपर्दा प्रवासमा रहेका नेपालीहरू एकजुट भएर सहयोग गर्न तत्पर रहने उल्लेख गर्दै भविष्यमा पनि आवश्यकताअनुसार मातृभूमिलाई साथ दिने प्रतिबद्धता जनाए। सहयोग संकलन अभियानमा योगदान पुर्‍याउने न्यूजिल्याण्डस्थित नेपाली समुदाय र सबै दाताहरूको प्रशंसा गरिएको छ। यस सहयोगले भौगोलिक दूरीले मातृभूमिप्रतिको माया र मानवीय दायित्वलाई कमजोर बनाउन नसक्ने सन्देश दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार