• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी

समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी

८ चैत, रोल्पा। समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परेका थिए। यी ६ दलले मात्र थ्रेसहोल्ड पुर्‍याएका कारण ११० सिट उनीहरूको भाग परेको हो। तर, यी दलहरूले भूगोलको प्रतिनिधित्व गर्न सकेनन्। यसकारण यसपटक ३७ जिल्लाले समानुपातिक सांसद पाउन सकेनन्, जसमा रोल्पा पनि समावेश थियो। रोल्पासहित लुम्बिनी प्रदेशका ६ जिल्लामा समानुपातिक सांसद शून्य रहेका छन्।

तर रोल्पाकी छोरी-बुहारीहरूले भने सांसद बन्ने अवसर पाएका छन्। रास्वपाले सबैभन्दा धेरै ५७ समानुपातिक सांसद पायो। ती ५७ जनामध्ये खस आर्य समुदायकी क्रान्ति शिखा धिताल रोल्पामा जन्मिएकी हुन्। उनी नाउली, तत्कालीन जिनाबाङ गाविस (हाल गंगादेव गाउँपालिका–५) मा जन्मिएकी थिइन्, तर समानुपातिक सूचीमा दाङबाट परेकी थिइन्।

नेपाली कांग्रेसले २० समानुपातिक सांसद पायो, जसमा आदिवासी जनजाति कलस्टरबाट रेनुका काउचा मगर सांसद बनिन्। काउचा रोल्पाकी बुहारी हुन्। उनी बागलुङ–रिघाबाट सूचीमा परेकी थिइन् र २०७७ सालमा रोल्पा नगरपालिका–८ जङ्कोटमा बिहे गरेकी थिइन्। उनी उपप्रमुख हुँदै अहिले सांसद बनेकी हुन्।

नेकपाले ९ समानुपातिक सांसद पायो, जसमा आदिवासी जनजाति कलस्टरबाट भीमकुमारी बुढामगरलाई अवसर दियो। बुढामगर पनि रोल्पाकी छोरी हुन्। उनी माडी गाउँपालिका–६ कोर्चाङ (तत्कालीन लाप्चन गाउँ) मा जन्मिएकी थिइन्। माओवादी जनयुद्धमा सहभागी बुढामगरले जेलबाङमा बिहे गरेपछि दाङमा बसाइँ सरेकी थिइन् र दाङकै प्रतिनिधित्व गर्दै सांसद बनिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार