रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ का स्थानीयवासीका लागि वर्षायाममा म्याङ खोला पार गर्नु सधैं चुनौतीपूर्ण बन्दै आएको छ। शहीद मार्गअन्तर्गत पर्ने उक्त खोलामा स्थायी पुल नहुँदा खोला बढेपछि स्थानीय काठका अस्थायी साँघु बनाएर वारपार गर्न बाध्य छन्। तर, बाढी आएपछि ती साँघु पनि बगाउने भएकाले स्थानीयले हरेक वर्ष उस्तै समस्या दोहोर्याउँदै आएका छन्।गत जेठदेखि यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा आए पनि वर्षायाममा म्याङ खोलाको बहाव बढ्दा सडकमार्फत यात्रा गर्ने यात्रु र स्थानीय दुवै जोखिममा पर्ने गरेका छन्। पुथा उत्तरगंगा–६ का वडाध्यक्ष संखे सेनका अनुसार स्याङ खोलाबाट आएको बाढीले म्याङ खोलाको बहाव झनै बढाउने गरेको छ। साउन महिनामा मात्रै बाढीले सात पटकसम्म काठका अस्थायी साँघु बगाएको उनले बताए।‘गाउँका युवाहरू मिलेर साँघु हाल्छन्। बाढी आएपछि बगाउँछ। फेरि साँघु बनाउनुपर्छ,’ सेनले भने, ‘वर्षायाममा विद्यार्थी, बिरामी र दैनिक कामका लागि आवतजावत गर्ने नागरिकले निकै सास्ती खेप्नुपर्छ।’स्थायी पुलको अभावमा स्थानीय युवाहरू मिलेर काठ जोडेर अस्थायी साँघु बनाउँदै आएका छन्।
खोलाको बहाव बढेपछि साँघु बग्ने र आवतजावत नै रोकिँदा दैनिक कामकाजदेखि अत्यावश्यक सेवासम्म प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।पुथा उत्तरगंगा–५ की रबिना घर्तीमगरका लागि यो समस्या हरेक वर्ष दोहोरिने बाध्यता बनेको छ। ‘सडक बनेको छ, गाडी पनि चल्न थालेका छन्। तर खोला आएपछि फेरि हिँड्नै डर लाग्छ,’ उनले भनिन्। अस्थायी साँघुमा भर पर्नुपर्दा सामान ओसारपसारदेखि बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने गरेको उनले बताइन्।‘बिरामी परेको बेला खोला बढ्यो भने झन् अप्ठ्यारो हुन्छ। गाउँका मानिस मिलेर जसरी भए पनि पार लगाउनुपर्छ। हामीलाई सडकभन्दा पहिले पुल चाहिएको हो,’ घर्तीमगरले भनिन्।म्याङ खोला पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडालाई जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ। यही सडक हुँदै वडा नम्बर १, २, ३, ४, ५ र ६ का नागरिक आवतजावत गर्छन्। तर वर्षायाममा खोलाको बहाव बढेपछि पुलको अभावले सडक यातायात नै जोखिमपूर्ण बन्ने गरेको छ।‘सवारी चल्न थालेपछि गाउँबाट बाहिर जान र सामान ल्याउन सजिलो हुन्छ भन्ने लागेको थियो। तर वर्षा लागेपछि खोलाले बाटो छेक्छ,’ घर्तीमगरले भनिन्, ‘पुल बनेपछि मात्रै सडक बनेको अनुभूति हुन्छ।’
वडाध्यक्ष सेनका अनुसार कात्तिकको पहिलो सातापछि म्याङ खोलाको बहाव घट्ने भएकाले आवतजावत केही सहज हुन्छ। तर वर्षा सुरु भएसँगै हरेक वर्ष समस्या दोहोरिन्छ। ‘बर्सेनि यही खोलाले नागरिकलाई दुःख दिइरहेको छ। अस्थायी साँघु बनाएर मात्रै समस्या समाधान हुँदैन,’ उनले भने।उनका अनुसार म्याङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि वडा तहमा पर्याप्त बजेट छैन। प्रदेश र संघीय सरकारले आवश्यक बजेट तथा प्राथमिकता नदिँदा पुल निर्माण हुन नसकेको उनको भनाइ छ। ‘वडाको बजेटले मात्रै पुल बनाउन सम्भव छैन। प्रदेश र संघीय सरकारले चासो दिएर बजेट व्यवस्था गर्नुपर्छ। पुल बनेपछि धेरै वडाका नागरिकलाई सहज हुन्छ,’ सेनले भने।स्थानीयका अनुसार सडकमा सवारीसाधनको पहुँच बढे पनि म्याङ खोलामा पुल नहुँदा वर्षायाममा सडकको सुविधा अधुरोजस्तै बनेको छ। हरेक वर्ष काठको साँघु बनाउने, बाढीले बगाउने र फेरि बनाउने क्रमले स्थानीयलाई जोखिम र झन्झट दुवै थपिरहेको छ।स्थानीयले म्याङ खोलामा तत्काल स्थायी पुल निर्माण गरी विद्यार्थी, बिरामी, किसान तथा दैनिक आवतजावत गर्ने नागरिकको जोखिमपूर्ण यात्रा अन्त्य गर्न माग गरेका छन्। सडकले गाउँलाई जोड्न थाले पनि पुल नहुँदा वर्षायाममा त्यही सडक स्थानीयका लागि सहज यात्राको माध्यमभन्दा बढी जोखिमको बाटो बन्ने गरेको छ।