पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा, ८ चैत — पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटना माथागढी गाउँपालिका–७ रहबासमा घटेको हो। गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए।

यसअघि अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको पनि मृत्यु भइसकेको थियो। शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो। उपचारका क्रममा तीन जनालाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए। ३३ वर्षीय राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही पठाइएकोमा उनको पनि उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार