काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउने उपायको खोजी सुरु भएको छ। सोही क्रममा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा चर्चा चुलिएको छ।
नेपाल आयल निगम ले मूल्यवृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नुपरेको जनाउँदै खपत कम गर्ने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पछिल्लो मूल्यवृद्धिपछि निगमले दैनिक करिब चार अर्ब रुपैयाँ घाटा व्यहोर्नु परेको छ।
यता यातायात व्यवस्था विभाग ले पनि जोरबिजोर प्रणाली लागू गर्ने विषयमा एक चरणको छलफल भएको जनाएको छ। विभागका निर्देशक श्रीकान्त यादवले पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा आपूर्तिमा असर पारेपछि नेपालमा सम्भावित समस्या रोक्न खपत घटाउने उपायबारे छलफल गरिएको जानकारी दिए। उनका अनुसार जोरबिजोर प्रणालीबारे पनि विचारविमर्श भएको भए पनि हालसम्म कुनै ठोस निर्णय भने भइसकेको छैन।
अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँले बढे पनि नेपालमा १० रुपैयाँ मात्र बढाइएको छ। त्यस्तै पेट्रोलमा ३१ रुपैयाँले मूल्य बढेर आउँदा १५ रुपैयाँ मात्र बढाइएको छ भने ग्यासमा २१६ रुपैयाँले वृद्धि भए पनि पुरानै मूल्य कायम राखिएको छ।
प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढ्ने संकेत देखिएकाले पेट्रोलियम पदार्थको खपत घटाउनु अपरिहार्य भएको बताएका छन्।