कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले परम्परागत गहना र पहिरन प्रयोग गर्ने चलन घट्दै गएको छ। आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण यी परम्परागत वस्त्रहरू प्रायः हराउँदै गएका छन्।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे। त्यतिबेला शिरदेखि पाउसम्म चाँदीका गहना सजाउने चलन थियो। कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उनले बताइन्।
उनले थपिन्, “पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी र त्यसको तल पैँडा, पायल लगाउने गरिन्थ्यो। घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि थियो।”
परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो। चन्द्रमती रानाले भनिन्, “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिला मानिन्थ्यो।”
फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो। अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ। रानाहरूले बताए अनुसार राना थारू समुदायमा प्रयोग हुने धेरै गहना केवल सौन्दर्यका लागि नभई सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग जोडिएका थिए। विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे।
उनका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो। महिलाहरू आफैंले पहिरन तयार गर्थे। तर अहिले बजारमा पाइने कपडा प्रयोग बढेपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ। यससँगै परम्परागत पहिरन र गहनाको चलन विस्तारै घट्दै गएको स्थानीय बुढापाकाले बताएका छन्। कालिगढमा परम्परागत गहना बनाउने शिल्पीको सङ्ख्या घट्नु पनि अर्को कारण भएको बताइएको छ।