काठमाडौं – “आजको अवलोकन, भोलिको सुरक्षा” भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर ७६ औं विश्व मौसम दिवस मनाइँदैछ। यस वर्षको दिवसले जलवायु परिवर्तनले सिर्जित बढ्दो जोखिम र सटीक पूर्वसूचना प्रणालीको आवश्यकतालाई जोड दिएको छ।
नेपालमा हिमालय र हिउँको अवस्था चिन्ताजनक छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रतिवेदन अनुसार, सन् २०११–२०२० को दशकमा हिन्दकुश हिमालयमा हिउँ पग्लिने दर ६५ प्रतिशतले बढेको छ। यो प्रवृत्ति जारी रह्यो भने शताब्दीको अन्त्यसम्म हिमालयको ३०–५० प्रतिशत हिउँ हराउन सक्छ, जसले ‘एशियाको वाटर टावर’ भनिने नदी प्रणाली सुकाउने जोखिम बढाउँछ। तीव्र हिम गलनले नेपालका हिमताल फुट्ने सम्भावना बढाउँछ, जसले तल्लो क्षेत्रका लाखौँ मानिस र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याउन सक्छ।
जलवायुजन्य विपद्को असर नेपालमा प्रत्यक्ष देखिन्छ। नेपाल सरकारको तथ्यांक अनुसार, बाढी, पहिरो र चट्याङले वार्षिक औसत २५० जनाको मृत्यु गराउँदै आएको छ। सन् २०१२–२०२४ बीच ४४ हजारभन्दा बढी विपद्का घटनाहरू भएका छन्, जसमा ४२ हजार संरचना क्षतिग्रस्त भइसकेका छन्। आर्थिक दृष्टिले, यी घटनाले वार्षिक करिब २९ अर्ब नेपाली रुपैयाँ बराबरको क्षति पुर्याउँछ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२५ प्रतिशत हो।
विश्व मौसम संगठनका अनुसार सन् २०२५ इतिहासकै तेस्रो सबैभन्दा तातो वर्ष बनेको छ। औद्योगिक क्रान्तिपूर्वको तुलनामा पृथ्वीको तापमान १.४८ डिग्री सेल्सियसले बढिसकेको छ। यसले मनसुनको स्वरूप परिवर्तन, अतिवृष्टि, खडेरी, तराईमा तातो हावाको लहर, समुद्री सतह वृद्धि र ठूला चक्रवातको जोखिम बढाएको छ।
यसैका कारण, प्रभावकारी पूर्वसूचना प्रणाली (Early Warning System) सबैमा पहुँचयोग्य बनाउनु नै क्षति न्यूनीकरणको मुख्य उपाय मानिएको छ। नेपालले सन् २०२७ सम्ममा ‘सबैका लागि पूर्वसूचना’ पुर्याउने लक्ष्य राखेको छ। अत्याधुनिक राडार र मौसम स्टेशनमार्फत कृषकदेखि सर्वसाधारणसम्म सुरक्षित रहन सहयोग पुग्नेछ। तर इसिमोडका विज्ञहरूले चेतावनी दिएका छन् कि केवल पूर्वसूचना पर्याप्त छैन; विश्वव्यापी तापमान वृद्धिमा मुख्य भूमिका खेलेको हरितगृह ग्यास उत्सर्जन घटाउन ठूला राष्ट्रहरूले तत्काल कदम चाल्न आवश्यक छ।