• २०८३ असार १२ गते शुक्रवार
  • Preeti To Unicode

महिला मन्त्रालय गाभ्ने तयारीविरुद्ध माइतीघरमा प्रदर्शन

महिला मन्त्रालय गाभ्ने तयारीविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौंको माइतीघर मण्डला मा महिला अधिकारकर्मीहरूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभ्ने तयारीविरुद्ध बिहीबार विरोध प्रदर्शन गरेका छन्।

नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय संख्या घटाउने योजना अन्तर्गत महिला मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभ्ने तयारी गरेको बताइएको छ। यसलाई गाभेर “स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय” बनाउने प्रस्तावप्रति अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका हुन्।

कमला पराजुली ले निर्णय भइसकेपछि परिवर्तन गर्न गाह्रो हुने भएकाले अग्रिम रूपमा खबरदारी गरिएको बताइन्। उनका अनुसार राज्यको खर्च कटौतीको नाममा महिला मन्त्रालयलाई कमजोर बनाउने प्रयास भइरहेको छ।

त्यस्तै, लिली थापा ले महिला मन्त्रालयलाई बारम्बार लक्षित गरिँदै आएको बताउँदै राज्यले यसलाई कहिल्यै प्राथमिकतामा नराखेको आरोप लगाइन्।

महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साह ले मन्त्रालय हटाउने निर्णय लोकतन्त्र र महिलाअधिकारमाथिको प्रहार भएको बताइन्। उनले निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।

प्रदर्शनमा सहभागीहरूले “महिला मन्त्रालय खारेज गर्न पाइँदैन”, “५१ प्रतिशतको अधिकारमा सम्झौता हुँदैन” जस्ता नारासहित प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार