काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भएको छ।
प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ। सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारहरूको नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ। साथै, देउवा नातेदारहरूको खातामा भएको कारोबारको विवरण पनि संकलन भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका स्रोतले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु रानाको संलग्नता र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा विवादास्पद निर्णयपछि भएको कारोबारबारे उजुरीको छानबिन भइरहेको छ। त्यसै सिलसिलामा बूढानीलकण्ठ निवास भत्काउन रोक लगाइएको हो।’
देउवा परिवारले बूढानीलकण्ठमा एउटै कम्पाउन्डभित्र दुईवटा बंगालो बनाएका थिए। केही दिनदेखि क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो, तर अनुसन्धानमा असर पर्ने र प्रमाण नष्ट हुनसक्ने जोखिम हुँदा उच्चपदस्थ अधिकारीको निर्देशनमा काम रोकेको स्रोतले जनाएको छ।