• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

बिल तिर्न नसक्दा शिव सदा अस्पतालमै अलपत्र, पैसा खोज्न हिँडेकी आमा सम्पर्कविहीन

बिल तिर्न नसक्दा शिव सदा अस्पतालमै अलपत्र, पैसा खोज्न हिँडेकी आमा सम्पर्कविहीन

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका १७ वर्षीय शिव सदा विष सेवनपछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन्। सुरुमा कटारी अस्पतालमा लगिएका उनलाई पछि कोशी अस्पताल हुँदै विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो।

अस्पतालमा उपचारपछि उनको स्वास्थ्य अवस्था सुधारिएको भए पनि करिब १ लाख ३० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा उनलाई डिस्चार्ज गर्न रोकिएको छ। आर्थिक रूपमा कमजोर परिवारले ऋण खोजेर करिब २० हजार रुपैयाँ मात्र तिर्न सकेको छ भने बाँकी रकम जुटाउन नसक्दा बिरामी अस्पतालमै बस्न बाध्य छन्।

यसैबीच, उपचार खर्च जुटाउन विराटनगरबाट पैदलै घरतर्फ हिँडेकी शिवकी आमा मघिया सदा सम्पर्कविहीन भएको परिवारले जनाएको छ। आमा बेपत्ता भएपछि परिवार झन् चिन्तामा परेको छ।

परिवारका अनुसार अस्पतालका कर्मचारी भन्दै पटक–पटक फोन गरेर बाँकी रकम तिर्न दबाब दिने गरिएको छ। शिवकी सासु भीम सरिया सदाले गरिब भएकै कारण उपचारपछि पनि ठूलो आर्थिक संकट भोग्नुपरेको गुनासो गरेकी छन्।

उनले सरकारी अस्पतालबाट समयमै र पर्याप्त उपचार भएको भए निजी अस्पताल धाउनुपर्ने अवस्था नआउने भन्दै स्वास्थ्य प्रणालीप्रति प्रश्न उठाएकी छन्।

यस विषयमा अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार