गुल्मीको चन्द्रकोट गाउँपालिका–४ मा शनिबार साँझ करिब ६:४० बजे भएको दुर्घटनामा करिब ५५ वर्षीया दृष्टिविहीन महिला तुलसी थापाको मृत्यु भएको छ।
घटना शान्तिपुर-चन्द्रकोट भित्री सडक खण्डमा भएको थियो। चन्द्रकोटतर्फबाट शान्तिपुरतर्फ आउँदै गरेको लु१ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री थापालाई ठक्कर दिएको प्रहरी जनाएको छ।
घाइते थापालाई सुरुमा सीएनसी मेडिकल, शान्तिपुरमा सामान्य उपचार दिइयो र थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पा पठाइएको थियो। तर राति करिब ११:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न जिप चालक जीवन फौदार (३१ वर्ष, चन्द्रकोट–४ डाडाबन) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जाँचमा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान जारी राखेको जनाएको छ।