काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुनुका कारण यात्रुहरू महँगो यात्रा गर्न बाध्य हुनु परिरहेको र विद्यार्थी, किशोरी तथा महिलाहरूलाई विशेषगरी जोखिम परेको अवस्था सुधार गर्न यो सेवा सुरु गर्न लागिएको हो।
सेवा अन्तर्गत उत्तर–दक्षिण दिशाको १६ किलोमिटरको रुटमा लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस संचालन हुनेछ। पूर्व–पश्चिम दिशाको २० किलोमिटरको रुट थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ।
यी दुबै रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्। बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछन् र हरेक २० मिनेटमा बस स्टपमा बस आउँने व्यवस्था गरिएको छ। सुरक्षाका लागि नगर प्रहरी राखिनेछ र बसमा सीसीटिभी क्यामरा जडान हुनेछ। महानगरपालिकाले यस सेवालाई सुरक्षित, सहज, एकीकृत र दिगो प्रणाली बनाउन योजना बनाएको छ।