काठमाडौँ — बुद्ध एयरले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा हवाई सेवा सञ्चालनमा चुनौती आएको जनाएको छ। कम्पनीका अनुसार विदेशी पर्यटकहरूले बुक गरेका टिकट धमाधम रद्द गरेपछि पर्यटन र हवाई सेवा क्षेत्र दबाबमा परेको छ।
यस्तै, हवाई इन्धन शुल्कमा अप्रत्याशित वृद्धि भएसँगै हवाई भाडामा समायोजन गर्नुपरेको छ। कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार हवाई सेवाको कुल खर्चमा इन्धनको हिस्सा ४० प्रतिशतबाट करिब ५० प्रतिशत पुगेको छ। साथै, अमेरिकी डलरको मूल्य वृद्धिले जहाजका पार्ट, मर्मत, प्राविधिक तालिम र अन्य सञ्चालन खर्चमा पनि उल्लेखनीय वृद्धि भएको छ।
कम्पनीले हालको अवस्थामा इन्धन मूल्य स्थिर नहुन्जेल तत्काल विकल्प सीमित रहेको जनाएको छ। तर परिस्थिति सामान्य भएसँगै पर्यटन क्षेत्र पुनः मजबुत हुने विश्वास पनि व्यक्त गरिएको छ। बुद्ध एयरले निजी क्षेत्र र सरकारसँग सहकार्य गर्दै हवाई सेवा र पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता जारी राख्ने जनाएको छ।