सप्तरीको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले आफ्नो स्वामित्वको राजविराज मुख्य बजारस्थित ३ कट्ठा जग्गामा अतिक्रमण भएको देखेर नगरपालिकालाई अतिक्रमित घर टहरा हटाउन औपचारिक पत्राचार गरेको छ।
कोलेनिकाका अनुसार, कित्ता नं. ९०, वडा नं. ६ (साबिक वडा नं. ७) अन्तर्गत ६ कट्ठा ६ धुर जग्गामध्ये २ कट्ठा १४ धुर अतिक्रमित भएको छ। नगरपालिकाले २०५४ सालमा जगदीश झा नाममा घर नक्सा पास गराएको पाइएको छ, यद्यपि जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा रहेको छ।
यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत अनुसन्धान भइसकेको थियो। गत २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमित संरचना हटाउने निर्णय गरेको थियो।
कोलेनिकाले नगरपालिकालाई पत्र लेख्दै सरकारी सम्पत्तिको संरक्षण गर्न र अतिक्रमित संरचना हटाउन आवश्यक प्रबन्ध मिलाउन अनुरोध गरेको छ।