• २०८३ बैशाख १७ गते बिहिवार
  • Preeti To Unicode

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ले सामाजिक सञ्जालमा साझा गरेको एक नक्सामा त्रुटि देखिएपछि आलोचना भएको छ। उक्त नक्सामा भारतअन्तर्गत पर्ने जम्मु कश्मीर क्षेत्रलाई पाकिस्तानतर्फ देखाइएको थियो।

निगमले उक्त गल्ती स्वीकार गर्दै माफी मागेको छ र विवादित नक्सा सामाजिक सञ्जालबाट हटाइसकेको जनाएको छ। “हाम्रा सामाजिक सञ्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं। उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरू थिए,” निगमले स्पष्ट पारेको छ। साथै, सो नक्साले नेपाल वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने पनि उल्लेख गरिएको छ।

निगमका अनुसार, उक्त सामग्री हटाइसकिएको छ र भविष्यमा यस्ता त्रुटि नदोहोरियोस् भनेर आन्तरिक समीक्षा प्रक्रिया अघि बढाइएको छ। “हामी हाम्रा सामग्रीहरूले उच्चतम शुद्धताको मापदण्ड पूरा गर्ने सुनिश्चित गर्न काम गरिरहेका छौं,” निगमले जनाएको छ। साथै, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धप्रति आफूहरू गम्भीर रहेको र उक्त घटनाबाट कसैलाई असहजता भएको भए दुःख व्यक्त गरिएको छ।

यस घटनापछि भारतमा व्यापक प्रतिक्रिया देखिएको थियो। सामाजिक सञ्जालमा नेपाल एयरलाइन्सविरुद्ध आलोचना भएको थियो भने केही प्रयोगकर्ताले यसलाई भारतविरोधी कदमका रूपमा व्याख्या गरेका थिए। भोजपुरी अभिनेता खेसारी लाल यादव ले पनि यस विषयमा कडा प्रतिक्रिया जनाउँदै यस्तो संवेदनशील विषयमा लापरवाही गर्न नहुने बताएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार