असनमा आजदेखि हरेक शनिबार सवारी निषेध, कहाँ गर्ने पार्किङ ?

असनमा आजदेखि हरेक शनिबार सवारी निषेध, कहाँ गर्ने पार्किङ ?

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता संरक्षण गर्न आज (शनिबार)देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक र व्यापारिक गरिमालाई पुनर्जीवित गर्ने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको हो। वैशाख ५ गतेदेखि लागू गरिएको यस व्यवस्थाअनुसार जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ।असन आउने आगन्तुकहरूका लागि धरहरा को भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार अब हरेक शनिबार असन क्षेत्रमा सवारीको भीडभाड हुने छैन। यसको सट्टा यहाँ रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शन गरिनेछ। साथै स्थानीय बाजागाजा, गायन तथा नृत्य कार्यक्रम सञ्चालन गरिनेछन् भने परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिको प्रवर्द्धन गरिने योजना रहेको छ।

महानगरपालिका वडा नं. २७ को नेतृत्व तथा स्थानीय क्लबहरूको सक्रियतामा सुरु गरिएको यस अभियानले असन क्षेत्रको वायु प्रदूषण न्यूनीकरण गर्नुका साथै पैदल यात्रु, विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकका लागि सुरक्षित र सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा असनसहित महानगरका आठ विभिन्न स्थानमा ‘वाटर एटीएम’ सेवा पनि सञ्चालनमा ल्याइएको छ। महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएममार्फत सर्वसाधारणले निःशुल्क शुद्ध पिउने पानी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार