बिस्केट जात्राको अन्तिम दिन : भक्तपुर र बोडेमा लिङ्गो ढालियो

बिस्केट जात्राको अन्तिम दिन : भक्तपुर र बोडेमा लिङ्गो ढालियो

भक्तपुर र मध्यपुरथिमिमा परम्परागत रूपमा मनाइने आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्रा आज सम्पन्न भएको छ। जात्राको अन्तिम दिन भक्तपुरको तालाक्वो (ज्याठा गणेश मन्दिर अगाडि) चैत मसान्तमा उठाइएको हात नभएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो।

गुठी संस्थान कार्यालयका प्रमुख आनन्द कर्माचार्यका अनुसार लिङ्गो ढालिएपछि परम्परागत रूपमा भैरव र भद्रकालीको पूजा गरी गहिटीबाट रथ तान्ने प्रक्रिया सुरु हुन्छ र सोही दिन जात्रा सम्पन्न हुने परम्परा रहेको छ।

त्यसैगरी, मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि चैत मसान्तमा उठाइएको लिङ्गो पनि आज बिहान करिब १० बजे ढालिएको स्थानीयहरूले जानकारी दिएका छन्। लिङ्गो ढालिएसँगै त्यहाँको जात्रा पनि सम्पन्न भएको हो।यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाइएको लिङ्गो वैशाख २ गते नै ढालिसकिएको थियो।

समग्रमा, लिङ्गो ढाल्ने र रथयात्रा सम्पन्न भएसँगै भक्तपुर र आसपासका क्षेत्रमा मनाइने बिस्केट जात्रा आज औपचारिक रूपमा समापन भएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार