• २०८३ बैशाख १० गते बिहिवार
  • Preeti To Unicode

पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

१० वैशाख, पोर्चुगल । पोर्चुगलमा नेपालीहरूको मृत्यु दर बढ्दै जाँदा शव व्यवस्थापन र नेपाल फिर्ती जटिल बन्दै गएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–१० का ३५ वर्षीय सन्तोषकुमार मोक्तानको ८ अप्रिल २०२६ मा कार्काभेलोस सहरमा निधन भएको थियो । तीन वर्षदेखि पोर्चुगलमा बस्दै आएका मोक्तानको शव आर्थिक अभावका कारण दुई सातादेखि उतै रोकिएको छ ।

परिवारले अन्तिम संस्कारका लागि शव नेपाल ल्याउन नसक्दा थप पीडा भोग्नुपरेको छ । तामाङ समाज पोर्चुगलले शव नेपाल पठाउन करिब ४ हजारदेखि ४ हजार ५ सय युरो खर्च लाग्ने बताउँदै आर्थिक सहयोगको अपिल गरेको छ । शव सुरक्षित राख्न तथा हवाई भाडा महँगो हुँदा खर्च बढ्दै गएको बताइएको छ ।

यस्तै, सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ का प्रकाश गुरुङले ६ अप्रिल २०२६ मा पोर्चुगलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । उनको शव नेपाल ल्याउने प्रयास भए पनि परिवारको सहमतिमा १५ दिनपछि पोर्चुगलमै दाहसंस्कार गरिएको छ । दाहसंस्कारका लागि करिब २ हजार युरो खर्च भएको थियो, जसमा पोर्चुगलको सामाजिक सुरक्षा कोषबाट १ हजार ६ सय युरो सहयोग प्राप्त हुने व्यवस्था छ भने बाँकी रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) ले व्यहोरेको छ ।

गुरुङको शव नेपाल पठाउन सङ्खुवासभा समाजले करिब ९ हजार युरो सहयोग संकलन गरेको थियो । तर अन्त्येष्टि पोर्चुगलमै गर्ने निर्णयपछि उक्त रकम मृतकको परिवारलाई नेपाल पठाइने भएको छ ।

पोर्चुगलमा नेपालीहरूको मृत्यु मासिक ५ जनाभन्दा बढी हुने गरेको तथ्यांक छ । सन् २०२५ मा मात्रै ६२ भन्दा बढी नेपालीको मृत्यु भएको बताइएको छ । सवारी दुर्घटना, आत्महत्या र समुद्रमा डुबेर मृत्यु हुने घटना बढी देखिएका छन् ।

लिस्बनस्थित नेपाली राजदूतावासका अनुसार पछिल्लो एक वर्षमा २६ वटा शव नेपाल पठाउन सहजीकरण गरिएको छ । तर श्रम स्वीकृति लिएर गएका नेपालीबाहेक अन्यको हकमा सरकारले आर्थिक सहयोग नदिने व्यवस्था भएकाले अधिकांश परिवारले आर्थिक समस्या झेल्नुपरेको छ ।

हाल पोर्चुगलमा विभिन्न सामाजिक संघ–संस्थाले शव व्यवस्थापन, कानुनी प्रक्रिया र आर्थिक संकलनमा सहयोग गर्दै आएका छन् । तर बढ्दो घटनाले समुदायमै आर्थिक दबाब बढ्दै गएको छ । सरोकारवालाहरूले शव व्यवस्थापनका लागि दूतावासको नेतृत्वमा दीर्घकालीन र प्रभावकारी नीति आवश्यक रहेको बताएका छन् । साथै, पोर्चुगल सरकारबाट प्राप्त हुने १ हजार ६ सय युरो सहयोगबारे पर्याप्त जानकारी नहुँदा धेरै परिवार यसबाट वञ्चित हुने गरेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार