• २०८३ बैशाख १० गते बिहिवार
  • Preeti To Unicode

मार्तडी–कोल्टी सडक निर्माणमा चरम ढिलाइ, २६ वर्षमा पनि अधूरै

मार्तडी–कोल्टी सडक निर्माणमा चरम ढिलाइ, २६ वर्षमा पनि अधूरै

१० वैशाख, बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कनेदेखि कोल्टीसम्मको कालोपत्र कार्य ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार कामको जिम्मा लिएको पीएस बानियाँ निर्माण सेवा ले समयमै काम नगर्दा बर्सेनि करोडौँ बजेट फिर्ता जाने अवस्था दोहोरिँदै आएको छ ।

गत आर्थिक वर्षमा १५ करोड बजेटमध्ये १३ करोड ५० लाखभन्दा बढी रकम खर्च हुन नसकी फिर्ता गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजित २० करोड बजेटसमेत हालसम्म उपयोग हुन सकेको छैन । २०७७ असारमा ५० करोड १७ लाख रुपैयाँमा २६ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको भए पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र काम सक्ने सर्त भए पनि पटक–पटक म्याद थपिँदा पनि प्रगति हुन सकेको छैन ।

ठेकेदारको ढिलासुस्तीका कारण वर्षायाममा मार्तडी–कोल्टी सडक अवरुद्ध हुने समस्या कायमै रहेको स्थानीयको गुनासो छ । कार्यालयले ठेक्का तोड्ने तयारीस्वरूप १५ दिने सूचना जारी गरे पनि ठेकेदार सम्पर्कमा नआएको जनाएको छ । यद्यपि कम्पनीका प्रतिनिधिले भने अब छिट्टै काम सुरु गर्ने दाबी गरेका छन् ।

मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर सडक २०५६ सालमा सुरु गरिएको थियो । तर २६ वर्ष बितिसक्दा पनि आयोजना पूरा हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । कुल १ अर्ब ५७ करोडभन्दा बढी लागतको यो आयोजना संघ र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार