मुस्ताङमा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति सुरु

मुस्ताङमा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति सुरु

मुस्ताङ मुस्ताङका विभिन्न पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति कार्य सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिका ले जीर्ण अवस्थामा रहेका पदमार्गहरूको संरक्षण र सुधारमा जोड दिएका हुन् ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा अन्य पूर्वाधार निर्माणका कारण केही पुराना पदमार्ग मासिँदै गएका छन् । यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित एक्याप जोमसोमले मुस्ताङका पाँचै स्थानीय तहमा मर्मत तथा स्तरोन्नति कार्य अघि बढाएको छ । चालु आर्थिक वर्षका लागि ११ वटा पदमार्ग सुधार गर्न ३२ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

एक्याप जोमसोमका प्रमुख राजेश गुप्ता का अनुसार ११ मध्ये तीन वटा पदमार्गको काम सम्पन्न भइसकेको छ भने बाँकीमा काम जारी छ । थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा पदमार्ग चौडा बनाउने, सरसफाइ गर्ने, जोखिमयुक्त भागमा ढुङ्गा बिछ्याउने तथा ग्याबिन वाल र रेलिङ जडान गर्ने काम भइरहेको छ ।यसअन्तर्गत छोेखोपानी–सौरु, भुतर्छो ताल परिक्रमा मार्ग, चिमाङ गाउँ मार्ग, सौरु–सिर्खुम थाङ्मेडाँडा र टिटी–लुप्साङ खर्क पदमार्गमा स्तरोन्नति भइरहेको छ । साथै छयो–टिटीताल नयाँ वैकल्पिक पदमार्ग तथा झिप्रा देउराली–प्याचु पदमार्गमा पनि सुधार कार्य भइरहेको छ ।घरपझोङ गाउँपालिकामा सम्ले गाउँ र नमखुलेक–तिलिचो ताल पदमार्ग सुधार गरिएको छ भने वारागुङ मुक्तिक्षेत्रमा थोरङफेदी–छेङ्गुर तथा मुक्तिनाथ रानीपौवा–झारकोट मार्गमा काम भइरहेको छ ।गत आर्थिक वर्षमा २७ लाख ९० हजार बजेटमार्फत कालोपानी–धुलोडाँडा नयाँ पदमार्ग निर्माणसहित ६ वटा मार्ग स्तरोन्नति गरिएको थियो ।

यसैबीच, एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेल का अनुसार चालु आवमा १४ लाख रुपैयाँ बजेटमा छुसाङ–तेताङ, ताङ्ग्या–पा, छोसेर–कोन्जोलिङ र मराङ–लोमान्थाङ पदमार्गमा सुधार भइरहेको छ । पछिल्ला तीन आर्थिक वर्षमा माथिल्लो मुस्ताङ क्षेत्रमा करिब २० किलोमिटर पदमार्ग मर्मत तथा स्तरोन्नति गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार