• २०८३ बैशाख २९ गते मङ्गलवार
  • Preeti To Unicode

ई–बिडिङ ह्याक प्रकरणमा पाँच वर्षअघि पक्राउ परेका कर्मचारी फेरि पक्राउ

ई–बिडिङ ह्याक प्रकरणमा पाँच वर्षअघि पक्राउ परेका कर्मचारी फेरि पक्राउ

काठमाडौं । सरकारी अनलाइन बोलपत्र प्रणाली (ई–बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा पाँच वर्षअघि पक्राउ परेका सरकारी कर्मचारी पुनः सोही प्रकृतिको साइबर अपराधमा संलग्न भएको खुलेको छ।

सीआईबीले २०७७ असार ३१ मा नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा धनकुटा पाख्रिबास नगरपालिका–५ का दिवाकर देउजालाई पक्राउ गरेको थियो। त्यतिबेला उनले टेलिकमको मोबाइल एप तथा सर्भर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई सेवा प्रणाली र राजस्वमा क्षति पुर्‍याएको आरोप लागेको थियो। सोही मुद्दामा उनी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीमा परेका थिए र पछि धरौटीमा रिहा भएका थिए।

तर, सीआईबीका अनुसार देउजा पुनः सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई भोटाहिटीबाट पक्राउ गरिएको हो।

अनुसन्धानमा हालसम्म १३ जना पक्राउ परिसकेका छन्। उनीहरूमा निर्माण व्यवसायी तथा विभिन्न कम्पनीका सञ्चालकहरू समेत रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार बोलपत्र प्रक्रिया समाप्त भइसकेपछि प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई प्रतिस्पर्धी कम्पनीका विवरण हेर्ने, संशोधन गर्ने र न्यून मूल्य प्रस्ताव राखेर ठेक्का हात पार्ने गरेको पाइएको छ।

सीआईबीका अनुसार यो कार्य व्यक्तिगत नभई संगठित समूहमार्फत सञ्चालन गरिएको देखिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार