नियमविपरीत बसोबास रोक्न बीपी क्यान्सर अस्पतालको निर्देशन, कर्मचारीले अटेर गरे

नियमविपरीत बसोबास रोक्न बीपी क्यान्सर अस्पतालको निर्देशन, कर्मचारीले अटेर गरे

चितवन । चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पताल को आवास गृहमा नियमविपरीत बस्दै आएका कर्मचारीहरूले आवास खाली गर्न अटेर गरेका छन् । अस्पताल प्रशासनले वैशाख १६ गते सूचना जारी गर्दै तत्काल आवास खाली गर्न निर्देशन दिएको भए पनि हालसम्म कुनै पनि कर्मचारीले आवास छाडेका छैनन् ।

अस्पतालका अनुसार आपत्कालीन सेवामा खटिने चिकित्सक, परिचारक तथा परिचारिकालाई प्राथमिकतामा राखी आवास उपलब्ध गराउने उद्देश्यले व्यवस्था गरिएको हो । तर, तोकिएको मापदण्ड विपरीतका कर्मचारीहरूले पनि आवास प्रयोग गरिरहेकाले व्यवस्थापनमा समस्या देखिएको छ ।

भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायक, अधिकृत र चिकित्सकस्तरका कर्मचारीका लागि छुट्टाछुट्टै आवास सुविधा उपलब्ध छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घरमा करिब ६० परिवार बस्न मिल्ने व्यवस्था छ भने अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा घर तथा १० वटा एकल र १० वटा दोहोरो परिवार बस्ने भवन निर्माण गरिएको छ ।

त्यसैगरी चार परिवार बस्न मिल्ने छ वटा घरमध्ये दुई भवनमा चिनियाँ प्राविधिकहरू र चार भवनमा नेपाली अधिकृत तथा चिकित्सकहरू बस्दै आएका छन् । चीन सरकारको सहयोगमा निर्माण गरिएका दुई भवनमा मात्रै १८ परिवार बसोबास गरिरहेका छन् । सहायकस्तरका कर्मचारीका लागि निर्माण गरिएका ३६ कोठामा १८ परिवारले आवास प्रयोग गर्दै आएका छन् ।

अस्पताल प्रशासनले २५ किलोमिटरको परिधिभित्र निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने स्पष्ट नियम रहेको उल्लेख गर्दै कोठा खाली गर्न निर्देशन दिएको भए पनि सो निर्देशन कार्यान्वयन हुन नसकेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार