काठमाडौँ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता ले वीर अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुँदै अभियानको औपचारिक उद्घाटन गरेकी हुन् । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी कार्यालयहरूमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन र स्वच्छ कार्य वातावरण सुनिश्चित गरिनेछ । कार्यालय परिसर, नाली तथा ढल सफा राख्ने, अव्यवस्थित तार र पोस्टर हटाउने तथा सेवाग्राहीमैत्री वातावरण बनाउन हेल्प डेस्क र सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रत्येक निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, साप्ताहिक कार्यतालिका बनाउने र मासिक स्व–मूल्याङ्कन गर्ने प्रावधानसमेत राखिएको छ ।