काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायतका खाद्य सामग्रीको आयातमा तत्कालका लागि रोक लगाएको छ । नेपालबाट पठाइएका कृषि उपजमा किरा भेटिएको र विषादीकरण (फ्युमिगेसन) सम्बन्धी कागजात शंकास्पद देखिएपछि अस्ट्रेलियाको National Plant Protection Organization Australia (NPPO) ले यस्तो निर्णय गरेको हो ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार निर्यात प्रक्रियामा प्राविधिक कमजोरी र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि देखिएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार खाद्य सामग्री उपचार गरिएको देशले नै स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्ने हुन्छ । तर नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्डअनुसार उपचार सुविधा नभएकाले सामान भारतको कोलकाता पठाएर प्रक्रिया पूरा गर्ने गरिएको थियो ।
तर पछिल्लो समय सोही प्रक्रियामा अनियमितता देखिएको छ । कोलकातामा उपचार नभएका सामग्रीलाई पनि उपचार भएको भन्दै प्रमाणपत्र जारी गरिएको, साथै केही कन्टेनरमा किरासमेत भेटिएको कारण अस्ट्रेलियाले नेपाली प्रमाणपत्रमाथि विश्वास गर्न नसकिने जनाएको छ ।
अस्ट्रेलियाले नेपाललाई दुई विकल्प दिएको छ । पहिलो, नेपालले आफ्नै भूमिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्युमिगेसन तथा उपचार सुविधा विकास गर्नु । दोस्रो, तेस्रो मुलुकमार्फत उपचार गरिएमा सम्बन्धित देशको सरकारी निकायले पूर्ण जिम्मेवारीसहित ‘रि–एक्सपोर्ट फाइटोस्यानिटरी सर्टिफिकेट’ जारी गर्नु पर्ने व्यवस्था मिलाउनु ।
कृषि मन्त्रालयका अधिकारीहरूले नेपालमै यस्तो सुविधा स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढिसकेको र सम्भव भए यसै आर्थिक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
यता कीर्तिपुरस्थित बागवानी केन्द्रमा फ्युमिगेसन सेन्टर स्थापना गर्ने योजना भने जग्गा विवाद र प्रशासनिक अड्चनका कारण लामो समयदेखि रोकिएको छ ।
यस घटनाले नेपाल–अस्ट्रेलिया व्यापारमा पनि असर पर्ने देखिएको छ । हाल दुई देशबीचको व्यापारमा नेपालले ठूलो घाटा व्यहोर्दै आएको अवस्थामा निर्यातमा आएको अवरोधले विदेशी मुद्रा आर्जनमा थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।