एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, रुजु कार्य तीव्र

एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, रुजु कार्य तीव्र

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा निकाल्ने लक्ष्यसहित बोर्डले हाल इन्ट्री कार्य पूरा गरी त्रुटि नहोस् भन्ने उद्देश्यले रुजु (भेरिफिकेसन) को काम तीव्र पारेको छ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनका अनुसार ‘नतिजा पर्सिसम्म सार्वजनिक हुने सम्भावना छ, अहिले आइटी प्रणालीले काम गरिरहेको छ र त्रुटि नहुने गरी तयारी भइरहेको छ।’ यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सहज भएको पनि उनले बताए।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यस वर्ष ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए। बोर्डले सबै प्रक्रिया पूरा भएपछि छिट्टै नतिजा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार