काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो जनवर्गीय संगठनहरूको नेतृत्व टुङ्ग्याएको छ। भर्खरै सम्पन्न संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्जहरूको जिम्मेवारी तोकेको हो। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी–३) अनुसार विभिन्न पेशागत, सामाजिक तथा वर्गीय संगठनहरूको नेतृत्व पुनर्संरचना गरिएको छ।
निर्णयअनुसार अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सहइन्चार्ज कुमार पौडेल, अखिल नेपाल महिला संगठनको इन्चार्ज जयन्ती राई र सहइन्चार्ज कमला रोका तोकिएका छन्। त्यस्तै आदिवासी जनजाति महासंघ, युवा संगठन, विद्यार्थी संगठन, प्रेस संगठन, ट्रेड युनियन, दलित संगठन, मुस्लिम संगठन, मधेसी संगठन लगायतका विभिन्न संरचनामा पनि नयाँ नेतृत्व चयन गरिएको छ।
पार्टीले यस निर्णयमार्फत जनवर्गीय संगठनहरूको संरचना सुदृढ गर्दै संगठनात्मक गतिविधि अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।