काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा नागरिकबाट प्राप्त सुझावमध्ये शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रसँग सम्बन्धित सुझाव सबैभन्दा बढी आएको जनाएको छ ।सरकारले शनिबार साँझदेखि नागरिकको प्रत्यक्ष सहभागिताका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको थियो । आइतबार बिहान ११ः१० बजेसम्म पोर्टलमार्फत कुल ४ हजार ८५२ सुझाव प्राप्त भएका छन् । तीमध्ये १ हजार ६४३ बजेट सम्बन्धी र २ हजार ३३१ नीति सम्बन्धी सुझाव रहेका छन् ।
प्राप्त सुझावमध्ये शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रसँग सम्बन्धित ९०६ सुझाव परेका छन् । त्यसपछि अर्थ, उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित ८८१ र पूर्वाधार विकास सम्बन्धी ८५४ सुझाव प्राप्त भएका छन् । अन्तरसरकारी समन्वय सम्बन्धी ७९९, वन तथा वातावरण सम्बन्धी २६०, सार्वजनिक वित्त व्यवस्थापन र सामाजिक सुरक्षा सम्बन्धी समान ११३, भूमि प्रशासन सम्बन्धी ९९, नागरिक सेवा सम्बन्धी १८४, सुशासन सम्बन्धी १५२, कानुन तथा न्याय सम्बन्धी १०६, कर्मचारी प्रशासन सम्बन्धी १८५ तथा अन्य विषयमा २०० सुझाव सरकारलाई प्राप्त भएका छन् ।सरकारले नीति तथा कार्यक्रममा नागरिकका सुझाव समेट्न १३ वटा फरक–फरक क्षेत्रमा सुझाव मागेको हो । पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीति निर्माताले बजेट निर्माण र विकास योजनासम्बन्धी आफ्ना राय–सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को पहिलो बैठकमै प्रस्तुत गरिने तयारी गरिएको छ ।