‘मालती मंगले’ ले बक्सअफिसमा राम्रो व्यापार गर्दै, दर्शकको उत्साहजनक प्रतिक्रिया पाउँदै

‘मालती मंगले’ ले बक्सअफिसमा राम्रो व्यापार गर्दै, दर्शकको उत्साहजनक प्रतिक्रिया पाउँदै

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘मालती मंगले’ ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ । निर्माता रामकृष्ण ढकालका अनुसार सुरुवाती शोमा सामान्य ओपनिङ भए पनि शनिबारदेखि फिल्मले दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ ।

ढकालले फिल्मप्रति दर्शकको आकर्षण बढ्नुमा ‘माउथ पब्लिसिटी’ प्रमुख कारण रहेको बताए । लामो समय संगीत क्षेत्रमा सक्रिय रहेका ढकालले यसै फिल्ममार्फत पहिलोपटक फिल्म निर्माणमा लगानी गरेका हुन् । दर्शकको प्रतिक्रिया बुझ्न फिल्मको टोली शनिबार काठमाडौंका विभिन्न हलमा पुगेको थियो ।

हलमा कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनामको उपस्थितिमा दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए । हलभित्र हुटिङ, सिट्ठी र तालीले माहोल झनै रोमाञ्चक बनेको निर्माण पक्षले जनाएको छ । फिल्म हेरेर बाहिरिएका धेरै दर्शकले यसलाई “नेपालीपन बोकेको उत्कृष्ट फिल्म” भन्दै प्रशंसा गरेका छन् ।

निर्माता ढकालका अनुसार कथावस्तु र प्रस्तुतिले दर्शकलाई हास्यदेखि भावनात्मक यात्रासम्म जोड्न सफल भएको छ । अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिलाई दर्शकले विशेष रुचाएका छन् । प्रकु पाण्डेयको निर्देशनमा बनेको यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार