१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात

१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात

कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी ले नेपालमा हाल १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको र त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको बताइन्।

उनका अनुसार गोदाममा रहेको, नेपाल भित्रिसकेको तथा गोदाममा अभिलेखीकरण हुन बाँकी रहेको मलसमेत जोड्दा हाल उक्त परिमाणमा मल मौज्दात रहेको हो। सरकारले चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमार्फत उपलब्ध गराउने लक्ष्य राखेको पनि उनले जानकारी दिइन्।

मन्त्री चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण रासायनिक मल आपूर्तिमा समस्या उत्पन्न भएको उल्लेख गर्दै हालसम्म १ लाख ८७ हजार मेट्रिक टन मल आयात हुन नसकेको बताइन्। साथै, भारतसँग जी–टु–जी (सरकार–सरकार) प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृत भएर अगाडि बढाइएको जानकारी पनि उनले दिइन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार