उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहान करिब ५:३० बजे कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१–००१ त २८४० नम्बरको ट्याक्टर उकालो तथा भिरालो कच्ची सडकमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित बनेर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक लिम्चुङबुङ–३ का ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक प्रदीप राई सकुशल रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।