गोरखामा बाढी र पहिरोको जोखिम, सेनाद्वारा ६ जनाको हवाई उद्धार

गोरखामा बाढी र पहिरोको जोखिम, सेनाद्वारा ६ जनाको हवाई उद्धार

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा हिमपहिरोका कारण आएको भीषण बाढीपछि नेपाली सेनाले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको छ। आइतबार बिहान आएको बाढीले दुईवटा पक्की पुल र केही घर बगाएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच सिरिङ्गे हिमालबाट हिमपहिरो खसेपछि उइनगुलुङ खोला र बूढीगण्डकी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बाढी आएको बताइएको छ। लेदो तथा गेग्रानसहितको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि सेनाले स्थल तथा हवाईमार्गबाट फौज परिचालन गरी उद्धार कार्य अघि बढाएको छ। पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनालाई हवाईमार्गबाट उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उद्धार कार्यका लागि काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत परिचालन गरिएको छ। साथै, सेनाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार