जनकपुरधाम । मधेश प्रदेशको प्रादेशिक अस्पताल जनकपुरधाममा बिरामीको चाप बढ्दै जाँदा उपचार सेवा प्रभावित भएको छ। २५ बेडको क्षमता रहेको आकस्मिक कक्षमा दैनिक १०० देखि १२५ जनासम्म बिरामी आउने गरेका छन्। बेड अभावका कारण बिरामीहरू स्ट्रेचर, बेन्च र भुइँमा बसेर उपचार गराउन बाध्य छन्। सर्पदंश, मिर्गौलासम्बन्धी समस्या तथा अन्य गम्भीर स्वास्थ्य समस्या भएका बिरामीले समेत समयमै बेड पाउन कठिन भइरहेको छ। आकस्मिक कक्षमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले उपचारमा थप चुनौती सिर्जना गरेको छ।
अस्पतालको आकस्मिक कक्षमा २५ बेडका अतिरिक्त स्ट्रेचर र बेन्चसमेत प्रयोग गरी ४० देखि ५० बेडसम्मको सेवा दिइँदै आएको चिकित्सकहरू बताउँछन्। तर, बिरामीको चापअनुसार आवश्यक जनशक्ति उपलब्ध नहुँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ। चार सिफ्टमा सञ्चालन हुने आकस्मिक कक्षमा प्रत्येक सिफ्टमा कम्तीमा चार जना मेडिकल अफिसर आवश्यक पर्ने भए पनि हाल सीमित चिकित्सकले सेवा दिइरहेका छन्। नर्स, ट्रायाज तथा अन्य स्वास्थ्यकर्मीको पनि अभाव छ। यसका कारण बिरामीले चिकित्सक र स्वास्थ्यकर्मी पर्खिनुपर्ने अवस्था रहेको छ।२०१३ सालमा जानकी सार्वजनिक अस्पतालका रूपमा स्थापना भएको यस अस्पतालले विभिन्न चरणमा स्तरोन्नति हुँदै २०४८ सालमा १०० बेडको स्वीकृति पाएको थियो। संघीयता कार्यान्वयनपछि मधेश प्रदेश सरकारमातहत आएको अस्पतालमा हाल ३९० बेड सञ्चालनमा छन्। अस्पतालका अनुसार दैनिक करिब दुई हजार बिरामीले सेवा लिने गरेका छन्। बिरामीको चापअनुसार अस्पताललाई ८०० बेडसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइए पनि स्वीकृत दरबन्दी र जनशक्ति व्यवस्थापनमा सुधार हुन सकेको छैन। अस्पतालमा हाल करिब ४०० जनशक्ति कार्यरत रहेको र संघीय सरकारको मापदण्डअनुसार ३९० बेड सञ्चालनका लागि कम्तीमा ९०० जनशक्ति आवश्यक पर्ने अस्पताल प्रशासनको भनाइ छ।
मधेश प्रदेश सरकारले अस्पतालको भौतिक पूर्वाधार विस्तार गरे पनि आवश्यक जनशक्ति थप्न र नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गर्न नसक्दा समस्या कायमै छ। मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताललाई २०० बेडको बनाउने निर्णय मन्त्रिपरिषद्बाट गराए पनि कानुनी प्रक्रिया पूरा हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवका अनुसार एक हजार जनशक्तिको दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले असहमति जनाएको र मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त नभएको हो। पर्याप्त बेड, चिकित्सक र स्वास्थ्यकर्मीको अभावले बिरामीको उपचारमा असर परिरहेको अवस्थामा अस्पतालको क्षमता विस्तारसँगै जनशक्ति व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने देखिएको छ।