काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको झन्डै ९५ करोड ५० लाख लिटर कच्चा तथा प्रशोधित खानेतेल तथा बोसो आयात गरेको छ। स्वदेशी उत्पादनले माग धान्न नसक्दा आयात निरन्तर बढिरहेको छ भने दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियाबाट कच्चा तेल आयात गरी नेपालमै प्रशोधन गरेर भारत निर्यात गर्ने उद्योग पनि उल्लेख्य रूपमा विस्तार भएको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ बराबरको ७२ करोड ६४ लाख ९९ हजार लिटर कच्चा भटमासको तेल आयात भएको छ। त्यसपछि १९ अर्ब ११ करोड रुपैयाँको ११ करोड ३८ लाख ३१ हजार लिटर कच्चा सूर्यमुखी तेल तथा कच्चा र प्रशोधित गरी करिब १८ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको पाम तेल तथा पामजन्य पदार्थ आयात गरिएको छ।
भटमासको तेल मुख्यतः अर्जेन्टिना, ब्राजिल, पाराग्वे, चीन, थाइल्यान्ड र युक्रेनबाट आएको छ भने सूर्यमुखी तेलमा अर्जेन्टिना र युक्रेन प्रमुख स्रोत बनेका छन्। पाम तेल भने मुख्य रूपमा इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात भएको छ। तोरी, नरिवल, तिल, कपासको गेडा र ओलिभ आयललगायतका अन्य तेल पनि भारत, चीन, स्पेन, इटाली, टर्कीलगायत देशबाट भित्रिएका छन्।
यस अवधिमा खानेतेल तथा बोसो आयातबाट सरकारले ११ अर्ब ३८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। सबैभन्दा धेरै ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व भटमासको तेलबाट, ३ अर्ब १५ करोड रुपैयाँ सूर्यमुखी तेलबाट र २ अर्ब ६७ करोड रुपैयाँ पाम तेलबाट उठेको विभागको तथ्यांकले देखाएको छ।
यता, नेपालले यही अवधिमा विभिन्न प्रकारका प्रशोधित खानेतेल तथा वनस्पति बोसो निर्यात गरेर १ खर्ब ३१ अर्ब ६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ। कुल निर्यातको झण्डै ८६ प्रतिशत हिस्सा अर्थात् १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँ बराबरको ५३ करोड ८ लाख लिटर प्रशोधित भटमासको तेल भारत निर्यात भएको छ। त्यसैगरी करिब ८ अर्ब रुपैयाँको प्रशोधित सूर्यमुखी तेल, ७ अर्ब ३१ करोड रुपैयाँको पामजन्य तेल तथा तोरी, क्यानोला, रेपसिड र अन्य तेलसमेत भारतसहित बंगलादेश, अष्ट्रेलिया, अमेरिका र बेलायतमा निर्यात भएको छ।
तथ्यांकले नेपालमा कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर मुख्यतः भारत निर्यात गर्ने उद्योग फस्टाउँदै गएको देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको थियो भने यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको छ।