सडक दुर्घटनाको बढ्दो जोखिम : न्यूनीकरणका लागि प्रभावकारी नीति र कार्यान्वयन आवश्यक

सडक दुर्घटनाको बढ्दो जोखिम : न्यूनीकरणका लागि प्रभावकारी नीति र कार्यान्वयन आवश्यक

काठमाडौं । नेपालमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा बढ्दै गएको छ । दैनिक औसत ६२ वटा दुर्घटना हुँदा करिब सात जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुने गरेको तथ्याङ्कले सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको देखाउँछ । दसैँजस्ता चाडपर्वमा काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले दुर्घटनाको जोखिम थप बढ्ने गर्छ । यस वर्ष दसैँमा करिब १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । बिग्रिएका सडक, खाल्डाखुल्डी, साँघुरा राजमार्ग, ट्राफिक सङ्केतको अभाव, तीव्र गति, चालकको लापरबाही, मादक पदार्थ सेवन, थकान, पुराना सवारीसाधन र ट्राफिक नियम उल्लङ्घन दुर्घटनाका प्रमुख कारण हुन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ४४ हजार ५२९ वटा सडक दुर्घटना हुँदा दुई हजार ७०७ जनाको मृत्यु र सात हजार ८०४ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ४३ हजार १६५ दुर्घटनामा दुई हजार ५४९ जनाको मृत्यु भएको थियो भने आव २०८०/८१ मा ३५ हजार ४०४ दुर्घटनामा दुई हजार ३६९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, आव २०७९/८० मा ३७ हजार ३९२ दुर्घटनामा दुई हजार ३२० जना र आव २०७८/७९ मा ३९ हजार ३७९ दुर्घटनामा दुई हजार ९९३ जनाको मृत्यु भएको थियो । दुर्घटनाले ज्यान गुमाउने व्यक्तिका परिवारमा आर्थिक सङ्कट, बालबालिकाको शिक्षामा अवरोध र आश्रित सदस्यको भविष्यमा समेत गम्भीर असर पार्ने गरेको छ । संसद्को विकास तथा प्रविधि समितिअन्तर्गत गठित अध्ययन उपसमितिले २०७७ सालमै सडक अनुशासनको कमी, दक्ष चालकको अभाव, मापदण्डविपरीत सडक संरचना र ट्राफिक नियमसम्बन्धी कमजोर जानकारीलाई दुर्घटनाका प्रमुख कारण औँल्याउँदै सुझाव दिएको थियो । तर, ती सुझावको प्रभावकारी कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि स्वीडेनको ‘शून्य दृष्टिकोण’, नेदरल्यान्ड्सको जोखिमअनुसार सडक व्यवस्थापन, बेलायतको तथ्याङ्कमा आधारित सुरक्षा कार्यक्रम, जापानको चालक अनुशासन, भारतको दुर्घटनाप्रवण क्षेत्र सुधार र चीनको प्रविधिमा आधारित निगरानी तथा कडा कानुनी कारबाही नेपालका लागि उपयोगी हुन सक्छन् । विश्व स्वास्थ्य सङ्गठनको ‘सुरक्षित प्रणाली’ अवधारणाले चालकबाट गल्ती हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सडक, सवारीसाधन, गति सीमा, कानुन र उद्धार प्रणालीलाई सुरक्षित बनाउन जोड दिन्छ । नेपालमा पनि जोखिमयुक्त सडक सुधार, स्वचालित गति निगरानी, चालकको नियमित तालिम, सवारीसाधनको वैज्ञानिक परीक्षण, डिजिटल दुर्घटना अभिलेख, सीसीटीभी निगरानी र दुर्घटनापछिको शीघ्र उद्धार तथा उपचारलाई प्राथमिकता दिन आवश्यक छ । एसियन ट्रान्सपोर्ट अब्जर्भेटरीको सन् २०२५ को प्रतिवेदनअनुसार सडक दुर्घटनाबाट हुने आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब सात प्रतिशत अर्थात् तीन अर्ब अमेरिकी डलर बराबर रहेको उल्लेख छ । त्यसैले सडक दुर्घटनालाई सामान्य घटनाका रूपमा नलिई सरकारले प्रभावकारी नीति र त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ । सुरक्षित सडक पूर्वाधार, जिम्मेवार चालक, कडा कानुनी कार्यान्वयन र आधुनिक प्रविधिको प्रयोगबाट दुर्घटनामा हुने मृत्यु तथा गम्भीर चोट घटाउन सकिन्छ । चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु सबै जिम्मेवार बन्न आवश्यक छ ।

(कार्की नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार