काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकतामा राख्दै संविधान, कानुन र पेसागत अनुशासनको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १-१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न, जिम्मेवारीप्रति जवाफदेही बन्न तथा कुनै पनि अनुचित प्रभाव र भेदभावमा नपरी कर्तव्य निर्वाह गर्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए । देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गर्दै उनले नागरिकको भावना र अपेक्षाअनुसार सहयोग, सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गरे । प्रधानमन्त्री शाहले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रभावकारी अनुसन्धानका लागि सूचना प्रविधिको सही प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसबाट प्रहरीको काम छिटो, सहज, पारदर्शी हुनुका साथै अपराध अनुसन्धान र घटना नियन्त्रणमा समेत सहयोग पुग्ने बताए । उनले आवश्यक अनुसन्धानका लागि सरकारले स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरे भने प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने परिवारजनप्रति आभार प्रकट गरे । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।