काठमाडौं । मोरङ–३ का चुनावी प्रतिस्पर्धी गणेश कार्की र सुनिल शर्माबीच पार्टी राजनीतिमा रोचक संयोग देखिएको छ । प्रतिनिधिसभा निर्वाचनमा शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्की र कांग्रेसका शर्मा दुवै आ–आफ्नो पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएर तेस्रो स्थानमा सीमित भएका छन् । कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेलले ४ हजार १९४ र उदयशम्शेर राणाले २ हजार ३३० मत प्राप्त गर्दा शर्माले २ हजार २५७ मत ल्याएका थिए । त्यस्तै, रास्वपाको महामन्त्रीमा विपिन आचार्य ६७३ मतसहित विजयी हुँदा मनिष झाले ३४६ र कार्कीले १६९ मत प्राप्त गरेका थिए । यो रोचक संयोगलाई सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्यात्मक शैलीमा व्यक्त गर्दै लेखेका छन्, ‘मोरङ ३ मा विशेष केही छ । महामन्त्रीमा उठौं उठौं लाग्छ र उठेपछि तेस्रो भइन्छ । मलाई हेर्नुस्, सुनिल शर्माजीलाई हेर्नुस् ।’