सुनसरी । धरानले ३० वर्षपछि नयाँ ‘स्मार्ट बसपार्क’ पाएको छ। भानुचोकस्थित पुरानो बसपार्क साँघुरो भई बढ्दो सवारी चाप व्यवस्थापन गर्न नसक्ने अवस्था बनेपछि धरान–८ तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको अत्याधुनिक बसपार्क शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। करिब २४ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण भएको बसपार्क एक वर्षअघि नै सम्पन्न भए पनि जग्गासम्बन्धी मुद्दाका कारण सञ्चालनमा आउन ढिलाइ भएको थियो। २७ कट्ठा क्षेत्रफलमा फैलिएको बसपार्कमा तीनतले टर्मिनल भवन, १०५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ टिकट काउन्टर, व्यावसायिक सटर, लज, रेस्टुरेन्ट, एटीएम, सीसीटीभी, अपाङ्गतामैत्री शौचालय तथा एकैपटक ३८ ठूला बस र १८ वटा जिप तथा ट्याक्सी पार्किङ गर्ने सुविधा रहेको छ। बसपार्क सञ्चालनको जिम्मा इटहरीस्थित ब्रदर्श ट्रेडर्सलाई वार्षिक एक करोड दुई लाख रुपैयाँ (भ्याटसहित) मा दिइएको छ। नयाँ बसपार्क सञ्चालनमा आएपछि अब भानुचोकमा सिटी सफारी र टेम्पोबाहेक अन्य सार्वजनिक सवारी पार्किङ गर्न नपाइने व्यवस्था गरिएको छ भने पहाडी र तराई क्षेत्रबाट आउने सवारीका लागि छुट्टाछुट्टै प्रवेश मार्ग पनि निर्धारण गरिएको छ। यातायात व्यवसायीहरूले नयाँ बसपार्कले धरानको बढ्दो यातायात चाप व्यवस्थापनमा महत्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।