काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक लाइन नकाटिकनै विद्युत् मर्मत–सम्भार गर्ने कार्य सुरु गरेको छ। आइतबार लुम्बिनी प्रादेशिक कार्यालयबाट कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा अत्याधुनिक मर्मत उपकरण प्रयोग गरी चालु अवस्थाकै विद्युत् लाइनमा मर्मत कार्यको थालनी गरिएको हो। नमुना परियोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित ११ केभी लाइनमा तालिमप्राप्त प्राविधिकहरूले सफलतापूर्वक मर्मत गरेका हुन्। प्राधिकरणका अनुसार हाललाई नमुनाका रूपमा सुरु गरिएको यो प्रणालीको प्रभावकारिता मूल्याङ्कनपछि विशेषगरी सहरी क्षेत्रमा विस्तार गरिनेछ। यस प्रविधिको प्रयोग व्यापक भए मर्मतका लागि गरिने अनिवार्य लाइन कटौती घट्ने, विद्युत् आपूर्ति थप भरपर्दो बन्ने र उपभोक्ताले नियमित सेवा पाउने अपेक्षा गरिएको छ।