काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा गुणस्तरहीन चामल पुनः प्याक गरी बिक्री वितरण गर्न लागिएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङमा गरेको निरीक्षणका क्रममा मुसाले खाएर डल्ला परेको २५ केजीका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ नयाँ बोरामा पुनः प्याकिङ भइरहेको अवस्थामा भेटिएको हो । अनुगमनमा चामलमा जैविक पदार्थ (किरा वा जीव) समेत फेला परेको, गोदाममा सरसफाइको अभाव रहेको, तापक्रम अत्यधिक बढी रहेको, मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको तथा बोरामा ब्याच नम्बर, मूल्य र पूर्ण लेबल विवरण उल्लेख नगरी बिक्री भइरहेको पाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ भने उत्पादन मिति २०८१ चैत १५ गते र दुई वर्ष उपभोग्य अवधि रहेको उक्त ३९ बोरा चामल अर्को निर्देशन नभएसम्म बिक्री वितरणमा पूर्ण रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार चामलको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ र प्रतिवेदन आएपछि थप कानुनी कारबाही गरिनेछ ।