श्रीमतीको हत्या प्रकरणमा ‘नेपाली ब्रो’सहित चार जना विरुद्ध अदालतमा मुद्दा दर्ता, बयानमा रिसको आवेगमा हत्या स्वीकार

श्रीमतीको हत्या प्रकरणमा ‘नेपाली ब्रो’सहित चार जना विरुद्ध अदालतमा मुद्दा दर्ता, बयानमा रिसको आवेगमा हत्या स्वीकार

काठमाडौं — श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा अहिले प्रहरी हिरासतमा छन्। नेपाली सेनामा कार्यरत आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा पक्राउ परेका थापासहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्ध, लामो समयदेखिको पारिवारिक कलह र आपसी विवादका कारण घटना भएको देखिएको छ। टिकटकमार्फत चिनजान र सामाजिक सञ्जालमा बनेको सम्बन्धपछि पारिवारिक तनाव झनै बढेको र त्यसले हिंसात्मक रूप लिएको अनुसन्धानले देखाएको छ।अदालतमा दायर गरिएको मुद्दामा मुख्य आरोपी कुमार थापाले श्रीमतीको हत्या गरेको स्वीकार गर्दै बयान दिएका छन्। उनले रिसको आवेगमा घाँटी रेटेर हत्या गरेको बताएका छन्। अन्य प्रतिवादीहरूमाथि भने हत्या गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ।

हाल काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ जारी छ। अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा राख्नेबारे निर्णय गर्नेछ। प्रहरीले भने घटनामा पारिवारिक विवाद, शंका–उपशंका र विवाहेत्तर सम्बन्ध प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार