काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो। अधिकारीको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध जनाउँदै मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार अधिकारी हेल्थ असिस्टेन्ट हुन्। उनी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेकामा हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए। उनी स्वास्थ्यमन्त्रीले गरेका कामको आलोचना गर्दै सामाजिक सञ्जालमा नियमित रूपमा टिप्पणी गर्ने गरेका थिए। गत शनिबार उनले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो मसिले क्रस लगाउँदै ‘माफिया मन्त्री’ लेखेर पोस्ट गरेका थिए। अर्को स्टाटसमा उनले मधेशका अस्पतालहरूमा गरिब नागरिकका लागि १० प्रतिशत बेडको व्यवस्था प्रभावकारी रूपमा लागू गर्न नसकेको आरोप लगाउँदै मन्त्रीसँग राजीनामा माग गरेका थिए।
स्वास्थ्यकर्मीहरूको भनाइअनुसार सोही फेसबुक पोस्टका आधारमा साइबर ब्युरोमा उजुरी परेको हुन सक्ने र त्यसपछि उनलाई पक्राउ गरिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, पक्राउको आधिकारिक कारणबारे प्रहरी वा सम्बन्धित निकायबाट औपचारिक जानकारी सार्वजनिक भएको छैन।