ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटिने, नयाँ रेडियो कलर जडान गरिने

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटिने, नयाँ रेडियो कलर जडान गरिने

चितवनमा २५ जनाको ज्यान लिएको ध्रुवे नामक जङ्गली भाले हात्तीलाई नियन्त्रणमा लिएर बेहोस बनाएपछि दाह्रा छोटो बनाउने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। गत शनिबार भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्जले हात्तीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। पुरानो रेडियो कलर प्रभावकारी नभएकाले नयाँ उपकरण जडान गरी हात्ती बस्तीमा प्रवेश गर्दा समयमै सूचना दिने व्यवस्था मिलाइनेछ। २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिएको बताइएको छ। निकुञ्जमा करिब ४५ देखि ५० वटा जङ्गली हात्ती रहे पनि अन्य हात्तीले यस्तो समस्या नदिएको जनाइएको छ। साथै, हात्तीको आक्रमण र आगलागीबाट क्षति भएको घर निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायको समन्वयमा पुनर्निर्माण गर्ने तयारी पनि भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार