हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई क्षेत्र नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि देशभर बदली रहने, हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुने तथा पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली, पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।