नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार यसको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ रहेको थियो। यसअघि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ माघ १५ गते पुगेको रेकर्ड छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।