काठमाडौं । भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार २० जेठदेखि १६ साउनसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी गरी ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
वितरण गरिएका पुर्जामध्ये भूमिहीन दलितका ६, भूमिहीन सुकुमवासीका ५८ र अव्यवस्थित बसोबासीका ३३ परिवार रहेका छन् । समितिले झापाको बुद्धशान्ति नगरपालिका–४, अर्जुनधारा नगरपालिका–११ र कन्काई गाउँपालिका–४ मा जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ ।
यस्तै, बर्दियाको बढैयाताल गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासी २९ परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ । चितवनको इच्छाकामना नगरपालिकामा ३४ परिवारलाई पुर्जा वितरण गरिएको छ । हालसम्म एउटै स्थानीय तहमा सबैभन्दा बढी पुर्जा इच्छाकामना नगरपालिकामै वितरण भएको समितिले जनाएको छ ।
यसैगरी, डडेलधुराको अजयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबासी सात परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।