काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले संसदीय समितिको बैठकमा मर्यादित, संवेदनशील र विषयकेन्द्रित भाषा प्रयोग गर्न सांसद तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्। समितिको बैठकमा पछिल्लो समय आमन्त्रित व्यक्तिमाथि केही सांसदहरूले तिखो टिप्पणी गर्ने क्रम बढेपछि सभापति बास्कोटाले यस्तो रुलिङ गरेकी हुन्। उनले समितिमा आमन्त्रित हुने व्यक्तिहरू विभिन्न संगठन, मन्त्रालय तथा सरकारी निकायका प्रमुखसमेत रहेकाले समितिमा बोलिने भाषा र व्यवहारलाई आम नागरिकले समेत हेरिरहेको बताइन्। विषयान्तर नगरी शब्द र भाषाको प्रयोगमा सचेत तथा संवेदनशील भएर आफ्ना धारणा राख्न उनले समिति सदस्य तथा आमन्त्रित व्यक्तित्वहरूलाई आग्रह गरिन्।
आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेस गरेको प्रतिवेदन २०८३ माथि छलफल तथा सुझाव संकलन गर्ने कार्यसूची रहेको छ। त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन २०८३ पारित गर्ने कार्यसूचीसमेत रहेको छ।