खानीखोला जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो

खानीखोला जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरेथलीमा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको छ। घटनास्थलमा बाक्लो कुहिरोका कारण हेलिकप्टर पुग्न नसकेपछि घाइतेलाई एम्बुलेन्समार्फत बेथानचोक गाउँपालिका–५ कामीडाँडासम्म ल्याइएको थियो। त्यसपछि कामीडाँडाबाट नेपाली सेनाको हेलिकप्टरमा घाइतेलाई धुलिखेल अस्पताल लगिएको बेथानचोक–५ का वडाध्यक्ष राजकुमार लामाले जानकारी दिए। खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनापछि घटनास्थलबाटै घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिएको भए पनि प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको थियो। दुर्घटनामा खानीखोला–४ का कलकबहादुर माझी र बनेपा–साँगा घर भई खानीखोला–२ माइती भएकी पातलीमाया (अनिता) मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा साँगाका रावल तामाङ, खानीखोला–३ का प्रदीप जर्गामगर, खानीखोला–५ डुम्रेका बहुतमान रुम्बा तथा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–का सुकुटेका धनपति रावल गम्भीर घाइते भएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार