इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ। डिभिजनअन्तर्गत सञ्चालित आयोजनामा करारीय दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ठेक्का रद्द गरिएका निर्माण व्यवसायीबाट सार्वजनिक खरिद सम्झौता तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम कायम भएको सरकारी बाँकी रकम असुल गर्न लागिएको हो।
ठेक्का अन्त्यपछि सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक–पटक प्रयास गरे पनि रकम दाखिला नभएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम बिहीबार सार्वजनिक सूचना जारी गर्दै अन्तिम ताकेता गरिएको हो। सूचनाअनुसार सम्बन्धित निर्माण व्यवसायीले नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा रकम दाखिला गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम जम्मा गरी बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।
सरकारी बाँकी रकम दाखिला गर्नुपर्ने निर्माण व्यवसायीमा पाँचथरको बुढाथोकी निर्माण सेवा रु. २३ लाख ४ हजार ५८७.४५ र ताप्लेजुङको मावोहाङ निर्माण सेवा रु. १ करोड ८ लाख २५ हजार २.६२ रहेका छन्। मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा.लि.का दुई ठेक्काको क्रमशः रु. ४ करोड ५९ लाख ७१ हजार ५६३.७५ र रु. ३ करोड ४२ लाख ४७ हजार ७०८.६८ बाँकी रहेको कार्यालयले जनाएको छ।
त्यस्तै इलामको एम.डि.ब्रो. कन्स्ट्रक्सन प्रा.लि.ले रु. ९ लाख ३४ हजार ७५०.०१, धनकुटाको शाह/पूजा जे.भी.का दुई ठेक्काबाट क्रमशः रु. ८६ लाख ३३ हजार ३१३.७८ र रु. ५७ लाख ३६ हजार ९५९.६७ तथा धनकुटाकै आशिवर्दि/पूजा जे.भी.ले रु. १ करोड ७१ लाख ७४ हजार १६३.९२ दाखिला गर्नुपर्नेछ।
यसैगरी इलामको माईजोगमाईस्थित एबिसी निर्माण सेवाले रु. १ करोड १८ लाख १३ हजार ३८४.२३, धनुषाको के.एम. कन्स्ट्रक्सनले रु. ३६ लाख ८७ हजार ७२६.३६, पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रा.लि.ले रु. ७९ लाख ४९ हजार २४५.२९ तथा धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी.ले रु. १ करोड ९९ लाख १४ हजार ४४७.९९ सरकारी बाँकी रकम बुझाउनुपर्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ।