काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन तथा चुनदेवीमा सभापतिको नेमप्लेट राखिएको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाउने भएको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङले सानेपामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राष्ट्रिय सम्मेलनमा भएका गतिविधिबारे समितिमा अत्यधिक उजुरी परेको जानकारी दिए । उनका अनुसार उजुरीहरू लिखित र मौखिक दुवै प्रकृतिका छन् । आगामी २४ भदौदेखि सुरु हुने वडा अधिवेशनअघि नै सबै उजुरीको छिनोफानो गरिसक्ने तयारी रहेको गुरुङले बताए । यद्यपि, कुन–कुन नेता वा व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइने हो भन्ने विषय भने उनले खुलाएनन् । कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सानेपामा जारी रहेको छ । समितिमा धना खतिवडा, रमेश धमला र बजरंग नेपाली सदस्य रहेका छन् ।